वीरगञ्ज । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्तादेखि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसम्मका सबै कार्यक्रम तय गरिएको छ।
महाधिवेशन केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै नेतृत्व चयन प्रक्रिया पारदर्शी र व्यवस्थित ढंगले अघि बढाइने जानकारी दिए।
कार्यतालिकाअनुसार सोमबार मतदाता नामावलीउपर दाबी विरोध, दाबी विरोधको सूचना प्रकाशन, सोसम्बन्धी छानविन तथा निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण तथा दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उजुरी दर्ता, उजुरीमाथि छानविन तथा निर्णय, उम्मेदवारी फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशनका कार्यक्रम तय गरिएको छ।
सोमबार बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता गरिनेछ। दरखास्त दर्ता सकिएपछि दिउँसो २ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन हुनेछ। प्रारम्भिक नामावली सार्वजनिक भएपछि दिउँसो २ः३० बजेदेखि ३ः०० बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिने व्यवस्था गरिएको छ। उजुरीमाथि छानविन तथा निर्णयपछि साँझ ६ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी, पुस १ गते मंगलबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका छ। विद्युतीय मतदान मेसिनमार्फत मतदान सम्पन्न भएपछि मतगणना, निर्वाचन परिणाम घोषणा, प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रमसमेत सोही दिन गरिने जनाइएको छ।
भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र हाल काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा जारी छ। महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।
