आज:  | Tue, 21, Apr, 2026

जसपा नेपालद्वारा उम्मेदवार सिफारिस प्रक्रियाबारे मातहत समितिमा सर्कुलर जारी

Avatar photo दिशा निर्देश २९ मंसिर २०८२, आईतवार ०९:२९ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गर्न मातहतका सबै समितिहरूलाई सर्कुलर जारी गरेको छ।

पार्टीको संसदीय निर्वाचन क्षेत्र समन्वय समितिले पुस १० गतेभित्र जिल्ला समितिमा उम्मेदवारहरूको नाम पठाइसक्नुपर्ने छ भने जिल्ला समितिले आवश्यक निर्णयसहित पुस १५ गतेभित्र प्रदेश समितिमा नामावली बुझाउनुपर्ने प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन्।

प्रदेश समितिले जिल्ला समितिबाट प्राप्त नामावलीमाथि छलफल गरी निर्णय गर्दै पुस २० गतेभित्र प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा तीन जनासम्म हुने गरी सम्भावित उम्मेदवारहरूको नामावली केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पठाउन सर्कुलरमार्फत निर्देशन दिइएको छ।

बस्नेतका अनुसार समानुपातिक तर्फ प्रत्येक जिल्लाबाट जिल्ला समितिले कम्तीमा तीन जना पुरुष र तीन जना महिला, जातीय क्लस्टरअनुसार समावेशी हुने गरी प्रदेश समितिमा सिफारिस गर्नुपर्नेछ। प्रदेश समितिले उक्त नामावलीमाथि छलफल गरी आफ्नो रायसहित उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

तोकिएको समयसीमाभित्र प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष वा समानुपातिकतर्फका उम्मेदवारहरूको नाम केन्द्रीय कार्यालय वा संघीय संसदीय बोर्डमा प्राप्त हुन नसकेमा संसदीय बोर्डले आफैं उम्मेदवार मनोनयन गर्न सक्ने व्यवस्था पनि सर्कुलरमा उल्लेख गरिएको छ।

संघीय संसदीय बोर्डमा नाम पठाउँदा निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति तथा प्रदेश समितिले गरेका निर्णयहरूको बैठक निर्णय पुस्तिकाको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ।

उम्मेदवारहरूको अन्तिम निर्णय भने संघीय संसदीय बोर्डले नै गर्ने जसपा नेपालले स्पष्ट पारेको छ।


सम्बन्धित खबरहरु