वीरगञ्ज । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा आवेदन दिएका छन्। आउँदो फागुन २१ गते तय भएको आमनिर्वाचनअन्तर्गत समानुपातिकतर्फ निवेदन दिने हिजोसम्मको समयसीमाभित्र ती दलले आवेदन दिएका हुन्।
निर्वाचन आयोगमा हाल १ सय ४३ दल दर्ता छन्। तीमध्ये ४३ दलले समानुपातिक प्रणालीतर्फ आवेदन नदिई चासो नदेखाएका आयोगले जनाएको छ।
आयोगले मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय निर्धारण गरेको थियो। आवेदन दिने दलमध्ये संयुक्त चुनाव चिह्न लिएका तथा एकल चुनाव चिह्न लिएका राजनीतिक दल दुवै प्रकारका दल रहेका छन्। आयोगले प्राप्त आवेदनमाथि आवश्यक अध्ययन गरी पर्सिसम्म स्वीकृत गर्ने बताएको छ।
आयोगले तय गरेको कार्यतालिका अनुसार समानुपातिकतर्फ पुस १३ र १४ गते बन्द सूची पेश गर्नुपर्नेछ। बन्द सूचीमाथि अध्ययनपछि माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ।
दाबी–विरोध तथा छानबिन प्रक्रियापछि माघ २० गते अन्तिम सूची सार्वजनिक गरिनेछ।
प्रतिनिधिसभामा कूल २७५ सदस्य रहनेछन्। तीमध्ये १६५ सदस्य प्रत्यक्ष र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन गरिने व्यवस्था छ।
