आज:  | Tue, 21, Apr, 2026

सार्कलाई गतिशील र कार्यमुखी बनाउने समय आएको छ : प्रधानमन्त्री कार्की

Avatar photo दिशा निर्देश २४ मंसिर २०८२, मंगलवार ०९:२२ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गरी अझ गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेको बताएकी छिन्।

सार्कको ४१औँ चार्टर दिवसका अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमाथि एकताबद्ध भई क्षेत्रीय चुनौतीहरूको सामना गर्न सकिने र जनताको आकांक्षा पूरा गर्न सहयोग पुग्ने धारणा राखिन्।

प्रधानमन्त्री कार्कीका अनुसार, “झन्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो। उहाँहरूको सामूहिक दूरदृष्टिले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रता सुदृढ गर्ने र जनकल्याणमा केन्द्रित सार्कको जन्म भयो,” भन्ने उल्लेख सन्देशमा गरिएको छ।

उनले विगत वर्षहरूमा सार्कले आपसी समझदारी वृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र क्षेत्रभर जीवनस्तर सुधार गर्ने सामूहिक पहलकदमी अघि बढाइरहेको बताइन्। खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद, गरिबी न्यूनिकरणजस्ता चुनौतीहरू सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउन सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनको भनाइ छ।

हालका अध्यक्षका रूपमा नेपालले चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता र सहकार्यका भावना सफलतापूर्वक अघि बढाउने प्रतिबद्धता पुनः व्यक्त गरेको उनले उल्लेख गरिन्। संयुक्त प्रयासले साझा विकास लक्ष्यमाथि प्रगतिलाई तीव्रता दिने र दक्षिण एसियाली जनतामा ठोस लाभ पुर्‍याउन सकिने बताउँदै उनले चार्टर दिवसले क्षेत्रीय एकताप्रति नयाँ ऊर्जा भर्ने अपेक्षा व्यक्त गरिन्।

सार्कको स्थापना सन् १९८५ डिसेम्बर ८ मा बङ्गलादेशको ढाकामा चार्टरमा हस्ताक्षरसँगै भएको हो। अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठवटै देश यसमा सदस्य छन्। सार्क सचिवालय १९८७ जनवरी १७ मा काठमाडौंमा स्थापना गरिएको हो।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको शिखर बैठक सार्कको सर्वोच्च निर्णय–निर्माण तह हो। सामान्यतया दुई वर्षको अन्तरालमा वर्णानुक्रमअनुसार सदस्य राष्ट्रले शिखर सम्मेलन आयोजना गर्छन्। हालसम्म १८ शिखर सम्मेलन सम्पन्न भएका छन्। अन्तिमपटक १८औँ शिखर सम्मेलन २०१४ नोभेम्बर २६–२७ मा काठमाडौंमा भएको थियो, त्यसयता शिखर सम्मेलन हुन सकेको छैन।

सार्क चार्टरअनुसार निर्णयहरू सर्वसम्मतिबाट हुने तथा द्विपक्षीय वा विवादास्पद विषयहरूलाई छलफलबाट बाहिर राखिने प्रावधान छ।


सम्बन्धित खबरहरु