वीरगञ्ज । समान जनसङ्ख्याका आधारमा संसदीय तथा प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नेसहित ३५ बुँदे माग राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ।
बिहान साढे ११ बजेदेखि सुरु भएको धर्ना दिउँसो ३ बजेसम्म जारी रह्यो। पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवको नेतृत्वमा दर्जनौँ नेता–कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालयको मुख्य ढोकामै बस्दै आफ्ना मागहरू सार्वजनिक गरेका थिए।
अध्यक्ष यादवका अनुसार भौगोलिक रूपमा कठिनाइपूर्ण हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने, प्रदेशमा स्वशासन र संघमा साझेदारी प्रणाली अपनाउनुपर्ने तथा संविधान संशोधनमार्फत पहिचानप्रतिको सम्मान सुनिश्चित गर्नुपर्ने माग जसपाको प्रमुख एजेन्डामा परेका छन्।
यादवले राज्य पुनर्संरचनाका लागि उच्चस्तरीय आयोगको प्रतिवेदन २०६८ अनुसार (१०+१) मोडल अपनाउनुपर्ने माग पनि दोहोर्याए।
त्यसैगरी, दलित तथा महिलालाई छुट्टै आरक्षित निर्वाचन क्षेत्र, पूर्ण समानुपातिक प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था, समावेशी प्रतिनिधित्व हुने संसद् तथा प्रादेशिक जनसङ्ख्याका आधारमा पुनर्संरचित राष्ट्रिय सभाको माग पनि उठाइएको छ।
स्थानीय तहलाई प्रभावकारी क्षेत्राधिकार, गैर-दलीय आधारमा स्थानीय निर्वाचन, राज्यका सेवा–सुविधा र अवसरमा समानुपातिक पहुँच, जेनजी आन्दोलनका मागहरूको सम्बोधन तथा त्यसतत्कालीन दमनको छानबिन गरी कानुनी कारबाहीको माग पनि जसपाले अघि सारेको छ।
अल्पसङ्ख्यक समुदायका लागि स्वायत्त, संरक्षित एवं विशेष क्षेत्र निर्धारण, भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शिताका लागि कठोर कदम चाल्नुपर्ने माग पनि प्रस्तुत गरियो।
शिक्षा–स्वास्थ्यमा व्यापारीकरण अन्त्य, गुणस्तरीय र पहुँचयोग्य सेवा सुनिश्चित, विपन्न वर्गलाई निःशुल्क शिक्षा–तालिम तथा रोजगारी, विगतका छानबिन आयोगका प्रतिवेदन सार्वजनिक, राजनीतिक नियुक्तिमा भागबण्डा अन्त्य, योग्यता र समावेशीतामा आधारित नियुक्ति प्रणाली लागू गर्ने मागहरू पनि धर्नामा केन्द्रित रहे।
त्यसबाहेक भूमिहीन, सुकुम्वासी, किसान–मजदुरका समस्याको समाधान, बहुभाषिक नीतिको कार्यान्वयन, युवाका लागि स्वरोजगार कार्यक्रम, बेरोजगारी भत्ता, प्रदेशको सुरक्षा–प्रशासनिक संरचना निर्माण, वैज्ञानिक भू–उपयोग नीति, कृषि व्यवसायीकरण तथा मधेस–थरुहट आन्दोलनका क्रममा थुनामामिल्नेहरूलाई रिहाइ गर्ने मागहरू पनि जसपाले अघि सारेको छ।
अध्यक्ष यादवले शुक्रबार र आइतबार दुईदिनसम्म धर्ना कार्यक्रम सञ्चालन गरिएको बताउँदै सरकारले माग सम्बोधनतर्फ गम्भीरता नदेखाए थप कार्यक्रम घोषणा गरिने चेतावनी दिए।
धर्नामा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, शशी कपूर मियाँ, करिमा बेगम, घनश्याम गुप्ता लगायत नेताहरूको उपस्थिति रहेको थियो।
