आज:  | Tue, 21, Apr, 2026

मधेसमा नयाँ मुख्यमन्त्री टुङ्गो नलाग्दा सत्ता समीकरण जटिल

Avatar photo दिशा निर्देश २० मंसिर २०८२, शुक्रबार १४:१२ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अझै टुङ्गिन सकेको छैन। कांग्रेस संसदीय दलका नेता कृष्ण यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलले आ–आफ्नो अडान नछाडेपछि सहमति बन्न नसकेको हो।

प्रदेश प्रमुख सुरेन्द्रलाल लाभले सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समयसिमा तोकिदिएका छन्। एमाले संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, नेकपा (एस), लोसपा, जनमतलगायत दलहरू हिजैदेखि नयाँ नेतृत्वबारे तीव्र छलफलमा जुटिरहेका छन्। तर यादव र सोनलबीच सहमति नजुट्दा प्रक्रिया अघि बढ्न सकेको छैन।

कांग्रेस नेता कृष्ण यादवले आफूलाई मुख्यमन्त्री नबनाए पार्टी विपक्षमा बस्ने चेतावनीसमेत दिएका छन्।
“ठूलो दल भएकाले हामीले नै मुख्यमन्त्री नेतृत्व पाउनुपर्छ। यदि त्यो नदिइए विपक्षमा बस्छौँ,” उनले स्पष्ट चेतावनी दिए।

यसैबीच, स्रोतहरूका अनुसार एमालेले कांग्रेसलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ। कांग्रेस–एमालेको सहकार्य बनेमा सरकार बनाउन नौ सिट मात्रै अभाव रहनेछ, जुन कुनै एउटा दलको समर्थनले सहजै पूरा हुन सक्ने देखिन्छ। यही सम्भावनाले मधेसवादी दलहरू थप सतर्क बनेका छन्।

कांग्रेस र एमाले बाहेकका ६ दलसँग जम्मा ५१ सिट मात्रै पुग्ने भएकाले कांग्रेसबिनाको सरकार बनाउने प्रयास चुनौतीपूर्ण देखिएको छ। कांग्रेसले मुख्यमन्त्रीको दाबी कायम राखेपछि मधेसवादी दलहरूबीच वैकल्पिक संयोजनबारे गम्भीर छलफल भइरहेको छ।जसपा नेपालका एक सांसदले भने,हामी चाहन्छौँ मधेसवादी दलकै तर्फबाट मुख्यमन्त्री बनोस्। त्यसका लागि हामीले लोसपालाई समर्थन गरिरहेका छौँ। माओवादी र नेकपा (एस) पनि सहमत छन्। तर कांग्रेसलाई साथमा नराखी सरकार बनाउन कठिन देखिन्छ। तैपनि लोसपाबाटै नेतृत्व दिने प्रयास जारी छ।”

लोसपाका जितेन्द्र सोनल पनि मुख्यमन्त्रीका प्रबल दाबेदार हुन्। तर कांग्रेसले आफ्नो अडान नराखे उनी नेतृत्वमा सरकार गठन कठिन देखिन्छ। काँग्रेसका एक नेताका अनुसार, एमालेले काँग्रेसलाई साथ दिए जनमत पार्टीले पनि सहयोग गर्ने सम्भावना प्रबल छ।

मधेस प्रदेशको सत्ता समीकरण कुन दिशामा मोडिने हो समयसीमा नजिकिँदै जाँदा राजनीतिक हलचल झनै तीब्र बन्दै गएको छ।


सम्बन्धित खबरहरु