वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले पदबाट राजीनामा दिएका छन्। बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो राजीनामा घोषणा गरेका हुन्।
नेपालको संविधानको धारा १६८(४) तथा प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १४३(४) अनुसार विश्वासको मत लिन उपस्थित भएका मुख्यमन्त्री यादवले प्रक्रियामै राजीनामा दिएका हुन्।
सभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले आफ्नो नियुक्तिलाई असंवैधानिक भन्दै मधेश भवनभित्र देखिएको अव्यवस्था तथा अराजक व्यवहारप्रति कडा आपत्ति जनाए। उनले झण्डा फाल्ने, गमला फाल्ने, कर्मचारी र सुरक्षाकर्मीमाथि हातपात गर्ने जस्ता घटनालाई “गद्दारपूर्ण व्यवहार” को संज्ञा दिए।
यादवले भने, “बाध्यात्मक मुख्यमन्त्रीको रुपमा नियुक्त हुँदा विश्वासको मत पाउने नपाउने ठूलो कुरा होइन। चार सदस्यीय मन्त्रीमण्डल बनाएर जनताप्रति उत्तरदायी भएर काम गर्नु नै जनताको सेवकको परिचय हो।”
विश्वासको मत माग्ने क्रममा उनले आफूलाई असंवैधानिक रुपमा नियुक्त गरिएको भन्दै त्यसको नाममा गरिएको बलजफती, नौटंकी र दम्भपूर्ण व्यवहार जनताले स्वीकार नगर्ने टिप्पणी गरे।
मुख्यमन्त्री यादवले संघीयताको नाममात्रको समर्थन गर्ने तर मधेश सरकार निर्माणका लागि काठमाडौंको मुख ताक्ने प्रवृत्ति मधेशवादी शक्तिबाट नै देखिएको आरोप पनि लगाए।
