वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका–५ सतवरिया टोलमा निःशूल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब वीरगञ्ज सेन्ट्रल सिटि र जोन चेयर परसन डा.लक्ष्मी थापाको सहयोगमा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु परीक्षण शिविर सम्पन्न भएको हो ।
स्थानीय नेता एवं समाजसेवी नेजामुद्दीन शमानी तथा आशा देवीको पहलमा आयोजित शिविरमा तिलगंगा आँखा प्रतिष्ठान र वीरगञ्ज सामुदायिक आँखा उपचार केन्द्रका नेत्र चिकित्सक प्रभात चौरसिया लगायतको टोलीले आँखाको जाँच तथा परामर्श प्रदान गरेको थियो ।
जाँचका क्रममा ५७ जनामा मोतियाबिन्दु रोग पत्ता लागेको र ती सबैको निःशुल्क शल्यक्रिया गरिने लायन्स क्लब वीरगञ्ज परिवारका अध्यक्ष नरोत्तम पाण्डेय जानकारी दिए । उनकाअनुसार यो शिविर पोखरिया नगरपालिकाको दश वटै वडामा सञ्चालन गरिनेछ । लायन्स क्लबले ५ हजार जनाको निःशूल्क मोतियाबिन्दुको शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । सोही लक्ष्यअनुरुप शिविर सञ्चालन गरेर मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिने डा. लक्ष्मी थापाले बताइन् ।
पोखरीया नगरपालिका वडा नं. ५ का अध्यक्ष महेन्द्र प्रसाद चौहानको अध्यक्षतामा सम्पन्न शिविरमा राष्ट्रिय मुक्ति नेपालका सह–महासचिव नेजामुद्दीन समानी, नेपाली काँग्रेसका नेता आशा देबि, समाजसेवी मनोज साह कानु, सुनिल साह, गोवर्धन यादव, रहिम मियाँ लगायतको उपस्थिति रहेको थियो ।
