वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिन लागेका छन्। बुधबार दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले आफ्नो राजीनामा प्रस्तुत गर्ने तयारीमा रहेको एमाले स्रोतले जनाएको छ। बहुमत नपुग्ने अवस्था देखिएपछि यादवले राजीनामा दिने निर्णय गरेका हुन्।
सर्वोच्च अदालतले सोमबार साँझ मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। अदालतको आदेशअनुसार बुधबार बिहान प्रदेशसभा बैठक बोलाइएको थियो। तर, सत्तापक्षकै सांसदको अनुपस्थितिका कारण बैठक दिउँसो २ बजेसम्म सारिएको हो।
नेकपा एमाले मधेस प्रदेशसभाका प्रमुख सचेतक हरिनारायण महतोका अनुसार, “अहिलेको अवस्थामा विश्वासको मत लिँदा पनि बहुमत नपुग्ने स्थिति देखिन्छ। त्यसैले राजीनामा दिनु नै उचित हुन्छ,” उनले भने।
मुख्यमन्त्री यादवले पनि निकटस्थहरूसँग राजीनामा दिने मनस्थिति बनाइसकेका छन्। एक सांसदले भने, “मुख्यमन्त्रीजीले २ बजे बस्ने प्रदेशसभा बैठकमा आफ्ना कुरा राखेर राजीनामा दिने सोच बनाइसक्नु भएको छ। राजीनामासम्बन्धी छलफल भइरहेको छ।
यादव गत कात्तिक २३ गते नियुक्त भएका थिए। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यसअघि मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएकाले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेता यादव मुख्यमन्त्री बनेका थिए।
उनको नियुक्ति विवादास्पद भएपछि सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। यसैबीच मुख्यमन्त्रीको विवादपछि प्रदेश प्रमुख भण्डारीलाई सरकारले फिर्ता गरेको छ भने सभामुख रामचन्द्र मण्डल पनि पदबाट हटिसकेका छन्।
