वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाइएको प्रदेशसभा बैठक तोकिएको समयभन्दा झण्डै दुई घण्टा ढिलोगरी सुरु हुने अवस्था बनेको छ। बिहान ८ बजेका लागि बोलाइएको बैठक पौने १० बजेसम्म पनि सञ्चालन हुन सकेको छैन।
प्रदेशसभा भवन परिसर तथा वरपरको सुरक्षालाई आज विशेष रूपमा कडा पारिएको छ। बैठकअघि तालिम प्राप्त कुकुरमार्फत सुरक्षा जाँच गरिएको छ। जेन–जेड आन्दोलनका क्रममा सुरक्षा उपकरणहरू जलाईएका कारण हाल कुकुरमार्फत जाँच गर्ने गरिएको सुरक्षा इन्चार्ज प्रहरी निरीक्षक विक्रम शाहले जानकारी दिए।
यसअघि पनि पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने दिनमा यस्तो जाँच एकपटक गरिएको थियो।
सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादव आज विश्वासको मत लिन प्रदेशसभामा उपस्थित हुन लागेका हुन्।
गत असोज २९ गते सात दलको गठबन्धनबाट संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत सुनिश्चित नदेखिएपछि कात्तिक २२ गते राजीनामा दिएका थिए।
त्यसपछि तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दलको नाताले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई संविधानको धारा १६८(३) अन्तर्गत कात्तिक २४ गते मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
भण्डारी उपचारका लागि काठमाडौं जाने भन्दै मधेश भवनबाट निस्किएको केहीबेरमै बर्दिवासस्थित एक होटलमा झिसिमिसे बिहान यादवलाई शपथ खुवाएको घटनाले ठूलो राजनीतिक विवाद निम्त्याएको थियो। सो घटनाप्रति असन्तुष्ट दलहरूले सर्वोच्चमा रिट दायर गरेका थिए।
सुनुवाइपछि सर्वोच्च अदालतले मंसिर १५ गते मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको हो।
