वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आगामी बुधबार दिउँसो २ बजे प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिए पनि मुख्यमन्त्री यादवले उक्त आदेशको पत्र मङ्गलबार दिउँसो ३ बजे मात्र प्राप्त भएको भन्दै सोही आधारमा प्रदेशसभा सचिवालयलाई जानकारी गराएका छन्।
सर्वोच्च अदालतले सोमबार मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गर्दै २४ घण्टाभित्र सदनमा विश्वासको मत लिन आदेश दिएको थियो।
सरोजकुमार यादव प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) संसदीय दलका नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका हुन्। अन्य दलहरूले बहुमतका आधारमा सरकार गठन गर्न आग्रह गरे पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई नै मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यसलाई लिएर उत्पन्न विवादपछि प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरिसकेका छन्।
मुख्यमन्त्री यादवको नियुक्तिविरुद्ध प्रदेशसभाका ७४ सदस्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसमा सर्वोच्चले यसअघि नै दीर्घकालीन असर पर्ने निर्णय नगर्न प्रदेश सरकारलाई अन्तरिम आदेश जारी गरेको थियो।
मधेस प्रदेशसभामा कूल १०७ सदस्य रहेका छन्, जसमा सरकार गठनका लागि कम्तीमा ५४ मत आवश्यक हुन्छ। एमालेसँग अहिले २५ सांसद मात्र छन्, जसमध्ये एक जना निलम्बित अवस्थामा छन्।
यादवविरुद्ध ७४ सांसदले रिट दायर गरिसकेकाले उहाँले सदनबाट विश्वासको मत नपाउने जोखिम उत्तिकै उच्च रहेको विश्लेषण गरिएको छ।
