वीरगञ्ज। वीरगञ्जमा विविध कार्यक्रम गरी ३८ औँ विश्व एड्स दिवस मनाइएको छ । एचआईभीको परीक्षण, उपचारदेखि सचेतनासम्मको क्षेत्रमा काम गर्दै आएको एड्स हेल्थकेयर फाउण्डेशन (एएचएफ) नेपालले विविध कार्यक्रम गरी दिवस मनाएको हो ।
एचएफ नेपालले दिवसकै अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । परवानीपुरस्थित श्री भोजभगत माद्यामिक विद्यालयमा सम्पन्न प्रतियोगितामा कक्षा ९ की छात्रा दिव्या कुमारी पाठक प्रथम भएकी छिन् । त्यस्तै कक्षा १० की चाँदनी कुमारी राम द्वितिय हुँदा कक्षा १२ का सत्येन्द्र कुमार राम तृतिय भएको एएचएफ नेपालका मयङ्क गुप्ताले जानकारी दिए ।
प्रतियोगितामा विजेताहरुलाई विद्यालयका प्रधानाध्यापक बलिराम प्रसाद सर्राफ, सहायक शिक्षकहरु जयराम प्रसाद सर्राफ, जमील अन्सारी, विद्यार्थी जागरण मञ्चकी लक्ष्मी रानी साह लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा नारायणी अस्पतालका बरिष्ठ छाला, चर्म तथा यौनरोग विशेषज्ञ एवम एआरटी फोकल पर्सन डा. अतुलेश कुमार चौरसिया, बाराको परवानीपुर गाउँपालिका शिक्षा शाखा संयोजक रबिन्द्र कुमार मिश्र र एआरटी सेन्टरकी इन्चार्ज ज्योती गुप्ताले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा कक्षा ८ देखि १२ सम्मका ११ जना विद्यार्थीले सहभागिता जनाएकाे एएचएफ नेपालका राघवेन्द्र पालले जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक बलिराम प्रसाद सर्राफले विद्यार्थीलाई प्रारम्भिक उमेरमै एचआईभी एड्सबारे सहि जानकारी दिन सकिएमा भ्रम, डर र लज्जाको वातावरण हट्दै जाने बताए । उनले भने, “युवा पुस्तालाई तथ्यमा आधारित ज्ञान दिनु नै रोकथामको बलियो आधार हो । विद्यालयमै यस्तो कार्यक्रम हुनु सकारात्मक परिवेश बनाउने काम हो ।”
विद्यार्थीहरुलाई एचआईभी एड्सका बारेमा सचेत बनाउने अभिप्रायले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको एएचएफ नेपालकी काउन्सीलर रोशनी सर्राफले बताइन् । उनका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीलाई एचआईभी एड्सबारे सचेत र जवाबदेही बनाउनु हो। “विद्यार्थीले यस्तो विषयबारे खुलेर बोल्न र बुझ्न सकून् भन्ने चाहनाले हामीले विद्यालयस्तरमै कार्यक्रम गर्दै आएका छौं,” उनले भनिन् ।
