वीरगञ्ज । आसन्न निर्वाचनलाई लक्षित गर्दै मधेसमा राजनीतिक प्रतिद्वन्द्विता फेरि चर्किँदै गएको छ। पछिल्ला गतिविधिहरू हेर्दा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच आगामी चुनावमा पनि सीधा टक्कर हुने संकेत बलियो बनेको छ।
जसपा नेपालले मंसिर ६ गते संघर्षका कार्यक्रम घोषणा गरेलगत्तै जनमत पार्टीले मंसिर ७ गते समान कार्यक्रम सार्वजनिक गरेको छ। जनमत पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई मंसिर ८ गते १२ बुँदे ज्ञापनपत्र बुझाएको थियो भने जसपाले मंसिर १० गते आफ्ना मागहरू प्रधानमन्त्रीसमक्ष पेस गरेको छ। दुवै दल मधेसका विभिन्न जिल्लामा शैक्षिक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै संगठन विस्तारमा लागिरहेका छन्।
दुवै दलका शीर्ष नेताहरू सप्तरी–२ बाट उम्मेदवारी दिने आन्तरिक तयारीमा रहेको ती दलका नेताहरू बताउँछन्। यद्यपि दुवैले औपचारिक घोषणा भने गरेका छैनन्। विगतको जस्तै यसपटक पनि दुई नेताबीच दोहोरो प्रतिस्पर्धा हुने आकलन गरिँदैछ।
जनमत पार्टीका अध्यक्ष राउतले यसपटक कुनै दलसँग चुनावी तालमेल नगर्ने अडान प्रस्ट रूपमा राखिसकेका छन्। सात दलको संघीय लोकतान्त्रिक मोर्चाभित्र बसेका छलफलहरूमा पनि जनमत पार्टीले यही धारणा दोहोर्याएको छ। एउटै मोर्चाभित्र रहे पनि तालमेल नबन्ने भएपछि राउत–यादवबीच भिडन्त लगभग निश्चित देखिएको जनमतभित्रको बुझाइ छ।
यद्यपि केही नेताहरूले अन्तिम घडीमा दुवै नेताबीच कुनै न कुनै प्रकारको अनौपचारिक समझदारी बन्न सक्ने आशंका व्यक्त गरेका छन्। ‘मधेसका दुवै शीर्ष नेता भएकाले अन्तिममा एक–अर्कालाई सहयोग गर्ने मोडेल पनि आउन सक्छ,’ जनमत पार्टीका एक पदाधिकारीले भने।
गत चुनावमा सप्तरी–२ मा सीके राउतले उपेन्द्र यादवलाई पराजित गरेका थिए। त्यसपछि बारामा भएको उपनिर्वाचनमा उपेन्द्र यादव विजयी बनेका थिए। बारामा पनि जनमतले जसपालाई कडा चुनौती दिएको थियो।
यसपटक पनि त्यही निर्वाचन क्षेत्रबाट दुवै नेता चुनावी मैदानमा उत्रिने संकेत देखिँदैछ। जसपा सप्तरीका अध्यक्ष केदार यादवले पनि अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ बाटै उम्मेदवार बनाउन चाहेको बताए। तर यसबारे अझै औपचारिक निर्णय नभएको उनको भनाइ छ।
अर्कातिर, जनमत पार्टी सप्तरीका अध्यक्ष रामगमन साहका अनुसार डा. राउतले एक महिनाअघि नै सप्तरी–२ बाट चुनाव लड्ने घोषणा गरिसकेकाले उनीहरूमा कुनै द्विविधा छैन। स्थानीयहरूका अनुसार यो क्षेत्र यति अनिश्चित छ कि यहाँबाट अहिलेसम्म कुनै नेताले लगातार दुईपटक जितेको इतिहास छैन, जसका कारण दुवै नेतामा पनि सतर्कता देखिन्छ।
गठबन्धन र मोर्चा निर्माणको प्रक्रिया अघि बढिरहेका कारण चुनाव नजिकिँदै जाँदा तालमेल वा समझदारी हुने–नहुने विषय खुला नै रहेको बताइन्छ। जनमत पार्टीले अहिले तालमेल नगर्ने निर्णय लिए पनि परिस्थितिअनुसार रणनीति परिवर्तन हुन सक्ने जनमत नेताहरूको मूल्यांकन छ।
अहिलेका गतिविधिहरू हेर्दा मधेसका दुई प्रभावशाली नेताबीचको प्रतिस्पर्धा पुनः दोहोरिन सक्ने संकेत स्पष्ट देखिएको छ।
