आज:  | Tue, 21, Apr, 2026

कांग्रेसमा समायोजनको प्रयास: प्रस्ताव फिर्ता भए पुसमा महाधिवेशन

Avatar photo दिशा निर्देश १५ मंसिर २०८२, आईतवार १७:५९ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको मागसम्बन्धी प्रस्ताव फिर्ता भए पुस महिनामा नियमित महाधिवेशन गर्न मान्ने आफ्नो अडान सभापति शेरबहादुर देउवालाई स्पष्ट गरेको छ। आइतबार बिहान महाराजगञ्जस्थित देउवा निवासमा भेट्न पुगेका २० भन्दा बढी संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूले असोज २९ गते २ हजार ४८८ महाधिवेशन प्रतिनिधिमार्फत कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको हस्ताक्षर फिर्ता हुनुपर्ने सर्त राख्दै पुसमा १५ औँ महाधिवेशन गर्न आफूहरू तयार रहेको बताएका हुन्।

भेटमा सहभागी केन्द्रीय सदस्यहरू लक्ष्मी खतिवडा, जितजंग बस्नेत, गुरु बराल, डा. रणबहादुर रावल, रुपा बिक, चन्द्र केसीलगायत नेताहरूले पार्टीभित्र विवाद बढाउनु भन्दा निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखे। उनीहरूका अनुसार देउवाले पनि पार्टी एकढिक्का बनाउन पुसमै महाधिवेशनको कार्यतालिका ल्याउने तयारी भइरहेको बताए।

‘हामी पुसमा महाधिवेशन गर्न तयार छौँ, तर विशेष महाधिवेशनको माग गर्दै बुझाइएको हस्ताक्षर फिर्ता हुनैपर्छ,’ भेटमा सहभागी एक केन्द्रीय सदस्यले बताए। हस्ताक्षर फिर्ता नभए आफूहरू सहमत हुन नसक्ने कुरा पनि देउवालाई स्पष्ट गरिएको उनको भनाइ छ।

यसैबीच आइतबार दिउँसो बानेश्वरस्थित सनराइज पार्टी प्यालेसमा बसेको बैठकले पनि विशेष महाधिवेशन फिर्ता भए पुसमा नियमित महाधिवेशन गर्ने सहमति पुनः दोहोर्‍याएको छ। तथापि, हस्ताक्षर फिर्ताको सर्त भने यथावत् रहने निर्णय गरिएको छ।

उता, संस्थापन पक्षीय नेताहरू चुनावको तयारीलाई प्राथमिकता दिँदै प्रतिनिधिसभा निर्वाचन (फागुन) र राष्ट्रियसभा निर्वाचन (माघ) सम्पन्न भएपछि मात्र महाधिवेशन गर्नुपर्ने पक्षमा थिए। तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने कि पुसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्ने अडानमा छन्।

सभापति देउवाले भने शनिबार नेताहरूसँगको छलफलमा पार्टीमा दीर्घकालीन विवाद बढ्न नदिन फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनअघि नै १५ औँ महाधिवेशन गर्नु उचित हुने तर्क राखेका थिए। उक्त छलफलमा कार्यवाहक सभापति खड्का, महामन्त्री थापा–शर्मा, नेता डा. शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता लेखकलगायत सहभागी थिए। देउवाको प्रस्तावमा खड्का र लेखक सहमत भए पनि निधि र सिटौला चुनावअघि महाधिवेशन गर्न नहुने अडानमै रहँदै आएका छन्।

महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा उभिएको मतभेदका कारण असोज २८ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक निष्कर्षविहीन बनेको छ। बैठकमा निर्वाचनअघि महाधिवेशन गर्ने र निर्वाचनपछि गर्ने गरी दुई अलग–अलग कार्यतालिका प्रस्तुत भएका छन्। बैठक सोमबारका लागि पुनः बोलाइएको छ, जहाँ सबैलाई स्वीकार्य हुने गरी महाधिवेशनको तालिका बनाउन प्रयास भइरहेको नेताहरूले बताएका छन्।


सम्बन्धित खबरहरु