आज:  | Tue, 21, Apr, 2026

रास्वपा पर्साद्वारा समानुपातिक सांसदका लागि आह्वान, यस्तो छ मापदण्ड

Avatar photo दिशा निर्देश १३ मंसिर २०८२, शुक्रबार १७:०३ मा प्रकाशित (४ महिना अघि)

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला कार्यसमिति पर्साले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पार्टीको समानुपातिक उम्मेदवार छनोट मापदण्ड सार्वजनिक गरेको छ। शुक्रबार वीरगञ्जस्थित होटल क्लासिक ब्याङकमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत मापदण्ड सार्वजनिक गरिएको हो।

जिल्ला सभापति हरि पन्तका अनुसार समानुपातिक बन्दसूची तयार गर्दा प्रक्रिया पारदर्शी, वैज्ञानिक र समावेशी बनाउने उद्देश्यले केन्द्रीय समितिबाट विस्तृत मापदण्ड अनुमोदन गरिएको छ। उनका अनुसार उम्मेदवार छनोटमा पार्टी जिम्मेवारी, नेतृत्व क्षमता, लिडरसिप एकेडेमी सहभागिता, राजनीतिक नजिकिँदै आएको अभिप्राय, समावेशीता तथा प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) लाई अनिवार्य रूपमा समावेश गरिएको छ।

पन्तका अनुसार समानुपातिक सांसदका लागि प्रस्तावित उम्मेदवारले नौ वटा शर्त पूरा गर्नुपर्नेछ। ती शर्तमा नेपालको कानुन अनुसार अयोग्य नठहरिएको हुनु, प्रहरी रिपोर्ट पेस गरेको हुनु, कालोसूचीमा नपरेको हुनु, पारिवारिक आवश्यकता पूरा गर्न सक्षम हुनु, पारदर्शी आम्दानी स्रोत रहेको र सम्पत्ति विवरण पार्टीलाई उपलब्ध गराएको हुनु, पार्टी अनुशासन समितिबाट कारबाही नपरेको हुनु, अन्य दल परित्याग गरेर रास्वपामा प्रवेश गरेको हुनु, सार्वजनिक पदको दुरुपयोग नगरेको पुष्टि हुनु र पार्टीले तोकेको अन्य राजनीतिक तथा संगठनात्मक मापदण्ड पूरा गरेको हुनु समावेश छन्।

उनले भने, “नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र सांस्कृतिक विविधतायुक्त राष्ट्रिय एकताको रक्षा गर्दै सुशासन, दिगो शान्ति र समृद्धि सुनिश्चित गर्नु नै हाम्रो मूल प्रतिवद्धता हो।” उनका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै रास्वपाले समयमै रणनीतिक तयारी अघि बढाइसकेको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य डाक्टर नन्दन यादव, मधेस प्रदेश सञ्चार प्रमुख राम सर्राफ, संगठन विभाग उपप्रमुख प्रमोद कुमार, मधेस प्रदेश शिक्षा प्रमुख सबु कडेल, उपप्रमुख सोनालाल पटेल, जिल्ला कोषाध्यक्ष दिलिप प्रसाद कुर्मी, जिल्ला सहसचिव तथा पर्सा संगठन प्रमुख कृष्ण पासवान, नेता पुरुषोत्तम उपाध्याय, प्रदीप पटेल लगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो।


सम्बन्धित खबरहरु