आज:  | Tue, 21, Apr, 2026

वीरगञ्जका युवा नेताद्वारा नेपाली कांग्रेस सुधारका लागि सुझावपत्र हस्तान्तरण

Avatar photo दिशा निर्देश ६ मंसिर २०८२, शुक्रबार १७:४८ मा प्रकाशित (५ महिना अघि)

काठमाडौं. ५ मंसिर । नेपाली कांग्रेसलाई संगठनात्मक, वैचारिक र कार्यशैलीगत रूपमा सबल बनाउन वीरगञ्जका युवाहरूले सामूहिक रूपमा तयार पारेको ‘सुधार प्रस्ताव’ महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई हस्तान्तरण गरेका छन्।

चिकित्सा, इन्जिनियरिङ, वकालत, प्राध्यापन, कलाकारिता, वित्त, सूचना–प्रविधि, कृषि, समाजसेवा र द्वन्द्व व्यवस्थापनजस्ता क्षेत्रका करिब एक सय युवाहरूले आफ्नो अनुभव र अध्ययनलाई एकीकृत गर्दै तयार गरिएको उक्त प्रस्तावमा वीरगन्जका युवा नेताहरूको सक्रिय सहभागिता रहेको थियो।

कात्तिक २९ गते काठमाडौंमा सम्पन्न द आईडिया अफ कांग्रेस कार्यक्रममा सहभागी युवाहरूबाट संकलित सुझावलाई प्रदीप गिरि इन्स्टिच्यूट र युथ कांग्रेस नेपालले संयोजन गरी ‘सुधार प्रस्ताव’को रूप दियाे। प्रस्ताव बुझ्दै महामन्त्री गगन थापाले कांग्रेस कुनै एक समूहको मात्र संगठन नभई लोकतान्त्रिक र समुन्नत नेपाल चाहने सबैको भावनासँग जोडिएको राजनीतिक परिवार भएको टिप्पणी गर्नुभयो।

महामन्त्री थापाले ‘सुधार प्रस्ताव’मा समेटिएका सुझावहरूलाई कार्यबाहक अध्यक्ष पूर्णबहादुर खड्कामार्फत केन्द्रीय समिति सदस्यहरूसम्म पु¥याइने र अध्ययनपछि आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले द आईडिया अफ कांग्रेसलाई इभेन्टमा सीमित नराखी युवाको सोच र अपेक्षा समेट्ने अभियानका रूपमा विस्तार गर्नुपर्छ भन्ने सुझाव पनि दिनुभयो।

महामन्त्री विश्वप्रकाश शर्माले देश तथा पार्टीले जटिल चुनौतीहरूको सामना गरिरहेको बेला युवाले अघि सारेको सुधार सोचले कांग्रेसलाई सही दिशा दिन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। औपचारिक पदीय भूमिकाबाहिर रहेर पनि लोकतन्त्रप्रति आस्था राख्ने युवाहरूको स्वस्फूर्त सहभागिता कांग्रेसलाई अझ जिम्मेवार र प्रभावकारी ढङ्गले अघि बढ्न प्रेरित गर्ने उहाँको भनाइ थियो।

प्रदीप गिरि इन्स्टिच्यूटका कञ्चन झा, युथ कांग्रेस नेपालका अध्यक्ष यजश्वी राई, फिल्म निर्माता मीन भाम र युवा नेता सचिन तिमिल्सिनासहितका प्रतिनिधिहरूले संयुक्त रूपमा ‘सुधार प्रस्ताव’ बुझाएका थिए।


सम्बन्धित खबरहरु