वीरगञ्ज । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले आगामी चुनावका लागि उपयुक्त वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले हिजो सिंहदरबारमा आयोजना गर्नुभएको सर्वदलीय बैठकमा सहभागी नेताहरूले चुनाव नजिकिँदै गर्दा विश्वासिलो वातावरण नबनेकोमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस चुनावमा जान पूर्ण रूपमा तैयार रहेको तर सरकारको गतिविधिले विश्वास दिलाउन नसकेको टिप्पणी गर्नुभयो। उहाँका अनुसार चुनावका लागि आवश्यक आधारभूत तयारी अझै कमजोर देखिएको छ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पनि सरकार चुनावी वातावरण बनाउन असफल रहेको आरोप लगाउँदै आन्दोलनका क्रममा लुटिएका हतियार फेला नपर्नु र फरार कैदी पक्राउ नहुनुले सुरक्षा जोखिम बढाएको बताउनुभयो।
रास्वपाका नेता गणेश पराजुलीले पार्टी चुनाव केन्द्रित तयारीमा जुटिरहेको बताउँदै आवश्यक पूर्वाधार र सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग माग गर्नुभयो।
प्रधानमन्त्री कार्कीले फागुन २१ गते तोकिएको चुनाव राष्ट्रलाई संवैधानिक अनिश्चितताबाट जोगाउने एकमात्र वैधानिक उपाय भएको उल्लेख गर्दै सबै दललाई समयमै र जिम्मेवारीपूर्वक चुनावी प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो।
उहाँले युवाको आक्रोशलाई सकारात्मक ऊर्जामा रूपान्तरण गर्दै सडकको विद्रोहलाई नीतिनिर्माणको दिशातर्फ डोर्याउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।
प्रधानमन्त्रीले आन्दोलनका क्रममा भएका हिंसात्मक घटनाको निष्पक्ष र द्रुत अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन पनि दिनुभयो।
