आज:  | Tue, 21, Apr, 2026

सिमरा घटनाप्रति प्रधानमन्त्री कार्की चिन्तित, अराजकता स्वीकार्य छैन

Avatar photo दिशा निर्देश ५ मंसिर २०८२, बिहीबार ०८:२९ मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले सिमरामा हिजो भएको घटनालाई ‘दुःखद’ भन्दै लोकतन्त्रमा यस्ता अराजक गतिविधि स्वीकार्य नहुने स्पष्ट गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उहाँले सबै राजनीतिक दलका नेताहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न संबंधित निकायलाई निर्देशन दिनुभएको छ।

प्रधानमन्त्री कार्कीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान सरकारको मूल मूल्य भए पनि त्यसको नाममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, विमानस्थलमा अवरोध सिर्जना गर्ने वा कानुन हातमा लिन कसैलाई छुट नहुने टिप्पणी गर्नुभयो।

उहाँका अनुसार गृह प्रशासन र सुरक्षा निकायलाई शान्ति–सुव्यवस्था कायम गर्न, राजनीतिक नेताहरूको सुरक्षित आवतजावत सुनिश्‍चित गर्न तथा आगामी निर्वाचन निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न ‘उच्च संयम र पूर्ण तयारी’का साथ काम गर्न निर्देशन दिइएको छ।

त्यसैगरी प्रधानमन्त्रीले राजनीतिक उत्तेजना र उक्साहनबाट टाढा रहन तथा लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न सबै पक्षलाई अपिल गर्नुभएको छ।

बाराको सिमरा विमानस्थल गेट अगाडि हिजो एमाले कार्यकर्ता र जेनजी समूहका प्रदर्शनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले बेलुकीसम्म कर्फ्यु आदेश जारी गरेको थियो।
एमालेले बाराको परवानीपुरमा भएको आफ्नो कार्यक्रम भाँड्न जेनजी युवाहरूले अवरोध गरेको आरोप लगाएको छ भने जेनजी पक्षले उल्टै एमाले कार्यकर्ताबाट आफूहरू कुटपिट र दुर्व्यवहारको शिकार भएको दाबी गरेका छन्।


सम्बन्धित खबरहरु