वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति र शपथविरुद्ध दायर रिटमाथि आइतबार हुने भनिएको सर्वोच्च अदालतको सुनुवाइ स्थगित भएको छ। आजका लागि तोकिएको सुनुवाइ भोलि सोमबारसम्मका लागि सारिएको हो।
सो मुद्दाको सुनुवाइ न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो। अन्तरिम आदेशसम्बन्धी छलफल भोलि हुने सर्वोच्चको कार्यसूचीमा रहेको छ।
यसअघि केही समयदेखि अस्थिर बाँइरहेको मधेश सरकारमा सबैभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादवको नेतृत्वमा सरकार गठन भएको थियो।
तर, तत्कालीन प्रदेश प्रमुख सुमित्रा सवेदी भण्डारीले यादवलाई महोत्तरी–सिन्धुली सिमानास्थित बर्दिबास नगरपालिका–३, कालापानीको पानस होटेलमै गएर मुख्यमन्त्रीको शपथ गराएको घटनापछि विवाद चर्किएको हो।
शपथ प्रक्रिया संविधानविरुद्ध भएको आरोप लगाउँदै मधेश प्रदेशका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
