वीरगञ्ज । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र लिएकालाई मतदाता नामावलीमा नाम दर्ता गर्न ‘बायोमेट्रिक’ दिन निर्वाचन कार्यालय पुग्नुपर्ने बाध्यता हटाउने तयारी गरेको छ।
राष्ट्रिय पञ्जीकरण विभागसँगको समन्वयमा यो प्रक्रिया सुरु गर्न लागिएको आयोगले जनाएको छ। आयोगका पदाधिकारीहरूले हिजो प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा मतदाता नामावली दर्ता प्रक्रिया सहज बनाउन बायोमेट्रिक प्रणालीलाई व्यवस्थित गर्न लागेको जानकारी दिएका थिए।
आयोगका अनुसार, राष्ट्रिय परिचयपत्र बनाउँदा नै व्यक्तिको जैविक विवरण (बायोमेट्रिक) लिइएको हुँदा पुनः कार्यालयमा उपस्थित हुन नपर्ने व्यवस्था मिलाइनेछ। राष्ट्रिय परिचयपत्र लिएकाले नागरिकताको सट्टा परिचयपत्र नम्बर (आईडी नम्बर) प्रयोग गरी मतदाता नामावलीका लागि फारम भरेपछि बायोमेट्रिक दिन आयोगमा पुग्नुपर्ने छैन।
नयाँ व्यवस्थाले राष्ट्रिय परिचयपत्र बनाएकाहरूका लागि अनलाइनमार्फत मतदाता नाम दर्ता सहज बनाउनेछ। यसले स्वयं निर्वाचन कार्यालयमा पुग्न नसक्ने मतदातालाई समेत सुविधा दिने आयोगको भनाइ छ।
आयोगले आजदेखि यो प्रक्रिया कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। मतदाता नामावली दर्ताका लागि तोकिएको अन्तिम म्याद आउँदो मङ्सिर ३० गते आइतबारसम्म रहेको छ। समयसीमा नजिकिँदै जाँदा निर्वाचन कार्यालयहरूमा नाम लेखाउनेको चाप बढ्दो क्रममा रहेको आयोगले जनाएको छ।
