आज:  | Tue, 21, Apr, 2026

कांग्रेसको केन्द्रीय समिति बैठक आज, गगन थापा १५औं महाधिवेशन कार्यतालिका प्रस्तुत गर्ने

Avatar photo दिशा निर्देश १९ कार्तिक २०८२, मंगलवार ११:३७ मा प्रकाशित (५ महिना अघि)

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आज बसेको पार्टी केन्द्रीय समिति बैठकमा १५औं महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने भएका छन्।

सोमबार ललितपुरको धोविघाटमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजनमा बसेको औपचारिक तथा अनौपचारिक छलफलमा महामन्त्री थापाले आजको बैठकमा उपस्थित भई कार्यतालिका प्रस्तुत गर्ने सहमति भएको थियो। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बैठक बस्दैछ।

बैठकमा सुरूमा कार्यवाहक सभापति खड्काले आफ्नो भनाइ राख्नेछन्। त्यसपछि महामन्त्री थापालाई सम्बोधनको समय दिइनेछ, जहाँ उनले आफ्नो धारणा राख्दै महाधिवेशन कार्यतालिका प्रस्ताव पेस गर्नेछन्।

यसअघि पनि थापाले केन्द्रीय कार्यसम्पादन समितिमा विभिन्न विकल्पसहित महाधिवेशन कार्यतालिका पेस गरेका थिए। तर, सभापति शेरबहादुर देउवा पक्षसँग सहमति नजुटेकाले प्रस्ताव केन्द्रीय समितिमा पेस हुन सकेको थिएन।

कात्तिक १३ गतेको केन्द्रीय समिति बैठकमै थापाले प्रस्ताव पेस गर्न अनुमति मागे पनि उनी बैठकमा अनुपस्थित भएका थिए। त्यसयता कार्यवाहक सभापति खड्काले नेताहरूसँग छलफलमार्फत सहमति खोज्दै आएका छन्, तर अझै स्पष्ट निष्कर्षमा पुगिएको छैन।

महामन्त्री थापानिकट केन्द्रीय सदस्यका अनुसार, थापाले मंसिरभित्रै महाधिवेशन गर्ने या ढिलो भए पुस १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव ल्याउने तयारी गरेका छन्। तर, देउवा पक्ष भने चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने पक्षमा छ।

सभापति देउवानिकट नेताहरू जस्तै विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रकाशशरण महत र शशांक कोइरालाले चुनावपछि महाधिवेशन गर्नुपर्ने मुहान राखेका छन्। यता, थापा, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता शेखर कोइराला चुनावअघि नै महाधिवेशन गरिनुपर्नेमा अडिग छन्।

यसैबीच, सोमबार बानेश्वरमा बसेको देउवा पक्षीय केन्द्रीय सदस्यहरूको छलफलमा पनि चुनावपछि वैशाखमा महाधिवेशन गर्नुपर्ने मत एकीकृत भएको छ। आजै नयाँ बानेश्वरमा विशेष महाधिवेशन माग गर्दै प्रतिनिधिहरूको भेला पनि तय गरिएको छ।

देउवा पक्षका केन्द्रीय सदस्यहरूले बनाएको प्रस्तावित कार्यतालिकाअनुसार, पुस १५ भित्र क्रियाशील सदस्य नवीकरण सक्ने, फागुन २१ मा हुने आम निर्वाचनका लागि तयारी गर्ने र त्यसपछि वैशाख २५ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने योजना छ।


सम्बन्धित खबरहरु