वीरगञ्ज। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच बिहीबार महत्वपूर्ण शिष्टाचार भेटवार्ता भएको छ।
भेटमा मुख्यमन्त्री सोनलले प्रदेश सरकारको प्राथमिकतामा रहेको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य रहेकोमा जोड दिए। उनले मधेश प्रदेशको चौतर्फी विकासका लागि बेलायती दूतावास जस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य गर्न प्रदेश सरकार पूर्ण रूपमा तयार रहेको बताए।
बेलायती टोलीकी प्रमुख सिननले मुख्यमन्त्रीको प्राथमिकता र प्रदेश सरकारका विकास प्रयासहरूप्रति आफ्नो सहमति र समर्थन व्यक्त गरिन्। उनले दूतावास सहकार्यका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै, आगामी दिनमा सम्भावित साझेदारीका क्षेत्रहरूमा गहन छलफल गर्ने इच्छा व्यक्त गरिन्।
यस भेटघाटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती दूतावासका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यस अवसरले मधेश प्रदेशको समृद्धिमा बेलायतको समर्थन थप बलियो हुने अपेक्षा गरिएको छ।
