आज:  | Tue, 21, Apr, 2026

मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने

Avatar photo दिशा निर्देश १४ कार्तिक २०८२, बिहीबार १२:१० मा प्रकाशित (५ महिना अघि)

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले कात्तिक २२ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।

बुधबार मुख्यमन्त्री निवासमा बसेको सत्तारूढ गठबन्धनको बैठकले सो मिति तय गरेको हो। बैठकपछि मुख्यमन्त्री सोनलले विपक्षी दल नेपाली कांग्रेस र नेकपा एमालेसँग समेत विश्वासको मतका लागि समर्थन गर्न आग्रह गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार सत्तारूढ गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँगै नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टी समेत समावेश छन्।

गत असोज २९ गते सोनललाई जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपा नेपालका ५५ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो।

हाल गठबन्धनमा जसपा नेपालका १८, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्। साथै साना दुई दलको समर्थन पनि प्राप्त भएपछि मुख्यमन्त्री सोनललाई विश्वासको मत हासिल गर्न सहज अवस्था बनेको छ।


सम्बन्धित खबरहरु