वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई कसैको दबाब वा प्रभावमा हटाउने कुनै निर्णय नहुने स्पष्ट गरेको छ।
हाल काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्रीलाई गृहमन्त्री अर्याललाई पदमुक्त गर्न दबाब दिएको भन्ने समाचार सार्वजनिक भएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै सो समाचारलाई पूर्ण रूपमा भ्रमपूर्ण र तथ्यहीन भनेको हो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।
“कसैलाई मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्माननीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रमा पर्ने संवैधानिक विषय हो। कसैको दबाब वा प्रभावमा आधारित निर्णय हुन सक्दैन।”
श्रेष्ठले जारी गरेको विज्ञप्तिमा गृहमन्त्री अर्यालले अहिलेको असामान्य परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि आवश्यक वातावरण निर्माण, शान्ति–सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका उल्लेख छ।
सचिवालयले अहिलेको संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै अफवाह र अपुष्ट समाचार नफैलाउन र नपत्याउन सबै पक्षसँग आग्रह गरेको छ।
