वीरगञ्ज । एकपछि अर्को आपराधिक विवाद र फौजदारी मुद्दा सार्वजनिक भएपछि खगेन्द्र सुनारको मन्त्री बन्ने सम्भावना अन्ततः समाप्त भएको छ।
राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काका अनुसार आइतबार केवल बब्लु गुप्ता र डा. सुधा शर्माले मात्र मन्त्रीको शपथ लिने भएका छन्।
उनका अनुसार प्रधानमन्त्री कार्यालयबाट राष्ट्रपति कार्यालयमा दुईजनाको मात्रै शपथ हुने जानकारीसहितको पत्र आइपुगेको छ।
‘आज दुईजनाको मात्रै शपथ हुने जानकारी प्राप्त भएको छ,’ खड्काले भनिन्, ‘शीतल निवासमा बब्लु गुप्ता र डा. सुधा शर्माको शपथका लागि तयारी भइरहेको छ।’
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार बिहान चारजनालाई मन्त्री बनाउने तयारी गरेकी थिइन् — खगेन्द्र सुनार, डा. सुधा शर्मा गौतम, बब्लु गुप्ता र गणपतिलाल श्रेष्ठ।
तर सुनारविरुद्ध फौजदारी मुद्दा र विवादहरू सार्वजनिक भएपछि उनको शपथ अन्तिम समयमा रोकिएको हो।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको थियो।
शपथ लिने तयारीमा रहेकी डा. शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीका रूपमा सिफारिस भएका छन्।
यता, खगेन्द्र सुनारसँगै रोकिएका गणपतिलाल श्रेष्ठलाई यसअघि पर्यटन मन्त्रालयको जिम्मेवारी दिने तयारी थियो। तर अन्तिम समयमा मन्त्रालय परिवर्तन गरी उनलाई भूमिसुधार मन्त्रालय तोकिएपछि नयाँ समायोजनका कारण उनको पनि शपथ स्थगित गरिएको छ।
