वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सिफारिस गरेका खगेन्द्र सुनारको शपथ अब हुने छैन। उनीविरुद्ध फौजदारी मुद्दा रहेकाले प्रधानमन्त्रीले अन्तिम समयमा उनलाई शपथ नगराउने निर्णय गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको मन्त्रीहरूको नामावलीमा सुनारको नाम श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका रूपमा समावेश गरिएको थियो। तर पछि प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ स्वयं राष्ट्रपति कार्यालय पुगेका र सुनारको शपथ स्थगित भएको जानकारी गराएको राष्ट्रपति कार्यालय स्रोतले बताएको छ।
‘बिहान पठाइएको नामावलीमा सुनारको नाम समावेश थियो, तर प्रधानमन्त्रीका स्वकीय सचिवले आएर प्रधानमन्त्रीले उनको शपथ नगराउने जानकारी गराउनुभयो,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो।
यता, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठले भने सुनारको नाम मन्त्रिपरिषद् सिफारिस सूचीमा कहिल्यै नसमावेश गरिएको दाबी गरेका छन्। तर उनको यो दाबी, सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो।
दैलेखको नारायण नगरपालिका–२, भैसेखोर निवासी सुनारविरुद्ध सुर्खेत जिल्ला अदालतमा २०८१ साल असारमा फौजदारी मुद्दा दर्ता भएको खुलेको छ। स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको आरोपमा दायर उक्त मुद्दामा उनी समेत प्रतिवादी बनाइएका थिए।
सरकारी वकिलको कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दायर गरेपछि अदालतले सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। २०८१ असार १४ मा जारी गरिएको पक्राउ पुर्जीपछि अदालतले सात दिनभित्र पक्राउ गर्न निर्देशन दिएको थियो। त्यसपछि पनि पक्राउ नपरेमा ‘३५ दिने पुर्जी तामेल गरी उपस्थित गराउनु’ भनी जिल्ला प्रहरी कार्यालय दैलेखमा पत्राचार गरिएको थियो।
त्यसक्रममा २०८१ मंसिर २१ गते अदालतले पुनः पत्राचार गर्दै सुनारलाई पक्राउ गरी अदालतमा उपस्थित गराउन निर्देशन दिएको थियो। उक्त मुद्दा सुर्खेतस्थित गुर्भाकोट नगरपालिका–८ मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दायर गरिएको थियो।
