वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यभार सम्हालेपछि पहिलोपटक राजनीतिक दलका शीर्ष नेताहरूसँग औपचारिक संवाद सुरु गरेकी छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा १४ दलमध्ये ११ दलका नेताहरू सहभागी भएका थिए। संवाद आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी र राजनीतिक सहकार्यका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा नेपाली कांग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)बाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र पम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले र सोविता गौतम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, जनमत पार्टीबाट चन्दनकुमार सिंह र नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे र प्रकाश ज्वाला सहभागी थिए।
सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीसँगै अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कृषिमन्त्री मदन परियार र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल उपस्थित थिए। बैठकमा सहभागी नेताहरूले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दलहरूबीच सहकार्य र विश्वास आवश्यक रहेको धारणा राखेका थिए। प्रधानमन्त्री कार्कीले संवादलाई राजनीतिक सहमति र स्थायित्वको दिशामा सकारात्मक सुरुवातको रूपमा लिएकी छन्।
