आज:  | Tue, 21, Apr, 2026

प्रचण्डकी छोरी गंगा दाहालको सचिवालयबाट राजीनामा

Avatar photo दिशा निर्देश ४ कार्तिक २०८२, सोमबार १७:२२ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत् विज्ञप्ति जारी गर्दै गंगाले आफ्नो राजीनामाको घोषणा गरेकी हुन्। उनले पछिल्ला दिनमा आफूविरुद्ध सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् फैलाइएका भ्रामक समाचार र चरित्र हत्या गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।

गंगाले लेखेकी छन्, “भाइ प्रकाश दाहालको निधनपछि पार्टीको निर्णयअनुसार बुवा (कमरेड प्रचण्ड)को सचिवालयमा जिम्मेवारी लिएर आएकी थिएँ। मम्मी सीता दाहाल बिरामी हुनुहुन्थ्यो, त्यसैले उहाँको हेरचाहसँगै सकेसम्म निस्वार्थ भावले काम गरेँ।”

उनले सचिवालयमा रहँदा सबैको अपेक्षा अनुरूप काम गर्न नसकेको स्वीकार गर्दै आत्मआलोचना गरेकी छन्।
“म गर्वका साथ भन्छु, मैले कहिल्यै व्यक्तिगत स्वार्थका लागि काम गरिनँ,” उनले लेखेकी छन्, “तर विवादरहित भएर काम गर्न खोजे पनि विवादमा पर्नैपर्ने रहेछ।”

विज्ञप्तिमा गंगाले आफूविरुद्ध भइरहेको योजनाबद्ध प्रचारप्रति असन्तोष जनाएकी छन्।
उनका अनुसार, “कहिले लाखौंको ब्याग भनिन्छ, कहिले लाख पर्ने घडी। मैले त्यस्ता सामान कहिल्यै किनिनँ। ती साथीहरूले जन्मदिनमा दिएको उपहार थिए, जुन जलेर खरानी भइसकेको छ। तर अझै पनि त्यही विषयलाई लिएर प्रहार गरिन्छ।”

गंगाले योजनाबद्ध रूपमा आफूलाई देखाएर माओवादी केन्द्र र संयोजक प्रचण्डविरुद्ध प्रचार भइरहेको आरोप लगाउँदै त्यसकै विरोधस्वरूप सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको बताएकी छन्।

उनले भनिन्, “संयोजक र पार्टीविरुद्ध भइरहेका योजनाबद्ध प्रहारका कारण मैले सचिवालयबाट राजीनामा दिएको हुँ। तर म आजीवन पार्टीकी जिम्मेवार कार्यकर्ता रहँदै पार्टीमा सक्रिय रहनेछु।”

साथै उनले सचिवालयमा रहेर सहयोग गर्ने सबै नेता, कार्यकर्ता र आम नागरिकप्रति आभार प्रकट गरेकी छन्।


सम्बन्धित खबरहरु