काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा सुनको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेको हो, जुन अघिल्लो दिनको तुलनामा ७ हजार १०० रुपैयाँले बढी हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ५८ हजार रुपैयाँ र १० ग्राममा २ लाख २१ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बिहीबार तोलामा २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार उल्लेखनीय रूपमा बढेको हो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। बिहीबार तोलामा ३ हजार २७५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार बढेर तोलामा ३ हजार ३५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।
विशेषज्ञहरूले अन्तर्राष्ट्रिय बजारमा बढ्दो माग, अमेरिकी डलरको मजबुती र भूराजनीतिक तनावका कारण सुनको मूल्य निरन्तर उकालो लागेको विश्लेषण गरेका छन्।
