आज:  | Tue, 21, Apr, 2026

एमाले केन्द्रीय बैठकमा असन्तुष्टि चुलियो, ओलीलाई राजीनामाको माग

Avatar photo दिशा निर्देश १ कार्तिक २०८२, शुक्रबार ११:०४ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि तीव्र आलोचना भएको छ। शुक्रबारको बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिँदै दलहरूको पुनर्गठनको वर्तमान आवश्यकता अनुसार एमालेको नेतृत्व पनि पुनर्संरचना हुनुपर्ने धारणा राखिन्।

तिम्सिनाले भनिन्, “कांग्रेसमा पुनर्गठन सुरु भइसकेको छ, अब हाम्रो अध्यक्षले पनि राजीनामा गरेर देशको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ।” उनले ओलीले बिदा लिएर अभिभावकको भूमिकामा गए देशभर सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरिन्।

१० बुँदामा धारणा प्रस्तुत गरेकी तिम्सिनाले जेनजी विद्रोहका क्रममा भएको क्षतिको नैतिक जिम्मेवारी तत्कालीन प्रधानमन्त्रीका रूपमा ओलीकै हुनुपर्ने बताइन्। उनले “षडयन्त्र” भएको दाबी गरे पनि त्यसमा संलग्न वैदेशिक निकाय र एम्बेसीहरूलाई किटान गर्न नेतृत्वसँग हिम्मत छ कि छैन भन्ने प्रश्नसमेत उठाइन्।

उनले ११ वर्षदेखि ओलीको अध्यक्षतामा भएको अभ्यासले बाम आन्दोलनलाई विचलित बनाएको भन्दै नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने धारणा राखिन्। “हामी नयाँ नेतृत्व लिएर चुनावमा गयौँ भने एमाले खरानी टकटक्याएर बौरिनेछ,” उनले भनिन्।

अर्का केन्द्रीय सदस्य अरविन्द सिंहले पनि ओलीको प्रतिवेदन र कार्यशैलीमाथि प्रश्न उठाउँदै विधान महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन २४ घण्टा नबित्दै फेल भएको टिप्पणी गरे। उनले भने, “फेल भएको कार्यनीति बोकेर पाँच वर्ष अघि बढ्न सकिँदैन। नेतृत्वले के सुन्न रुचाउँछन् त्यही मात्रै सुनाउने प्रवृत्तिले पार्टीलाई सक्किने बाटोमा लैजाँदैछ।”

सिंहले भदौ २३ गते भएको नरसंहारको आरोपबाट पार्टी उम्कन नसक्ने उल्लेख गर्दै जनआक्रोश ओली र उनको वरिपरि रहेको सर्कलमाथि केन्द्रित भएको बताए। उनका अनुसार, “जिम्मेवारी हस्तान्तरण गरेर मार्ग प्रशस्त गर्नु नै पार्टीको भविष्य बचाउने एक मात्र उपाय हो।”

उनले दुईपटक संसद् विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै सडकमा जानु जनतामाझ हाँसोको विषय बन्ने चेतावनी दिए। साथै, उनले विद्या भण्डारीको सदस्यता नवीकरण गरी पुनः पार्टी कार्यमा फर्काउने वातावरण बनाउन माग गरे।


सम्बन्धित खबरहरु