आज:  | Tue, 21, Apr, 2026

कांग्रेसमा विशेष महाधिवेशन, एमालेले पनि मङ्सिरमा महाधिवेशनको प्रस्ताव

Avatar photo दिशा निर्देश ३० आश्विन २०८२, बिहीबार १०:०६ मा प्रकाशित (६ महिना अघि)

वीरगञ्ज । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीका आधाभन्दा बढी अर्थात् ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हिजो कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहित विशेष महाधिवेशनको मागसहित निवेदन बुझाएका छन् ।

युवा नेताहरूको अगुवाइमा बुझाइएको निवेदनमा पार्टी विधानको धारा १७ अनुसार विशेष महाधिवेशन बोलाउन माग गरिएको छ । उनीहरूका अनुसार पार्टीको नीति, नेतृत्व र संरचनाबारे गहिरो आत्मसमिक्षा गर्न अब केन्द्रीय समितिको निर्णय मात्रै पर्याप्त छैन । त्यसैले नियमित वा विशेष महाधिवेशन अहिलेको अपरिहार्य विकल्प भएको उनीहरूको तर्क छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका थिए । तीमध्ये १२८ जना विभिन्न कारणले अब पार्टीमा छैनन् । बाँकीमध्ये २ हजार ४ सय ८८ जनाले विशेष महाधिवेशनको मागमा हस्ताक्षर गरेका छन् । पार्टी विधान अनुसार ४० प्रतिशत प्रतिनिधिले निवेदन दिएमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्ने व्यवस्था छ ।

विशेष महाधिवेशनको माग दर्ता हुनुअघि नै सभापति शेरबहादुर देउवाले कार्यकारी जिम्मेवारीबाट बिदा लिई उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरिसकेका छन् । देउवाको बिदाइपछि अब पार्टी जिम्मेवार र संयमित भएर अघि बढ्नुपर्ने बहस कांग्रेसभित्र सुरु भएको छ ।

यसैबीच, मुख्य प्रतिपक्षी दल नेकपा एमालेले पनि मङ्सिरमा पार्टीको महाधिवेशन गर्ने तयारी थालेको छ । हिजो बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन प्रस्ताव गर्नुभएको हो, जसलाई बैठकले अनुमोदन गर्नेछ ।

एमालेले एक वर्षअघि नै ११औँ महाधिवेशनको तयारी थालेको थियो । ओलीको राजनीतिक प्रतिवेदनलाई धेरै नेताहरूले समर्थन गरेपनि केहीले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा जोड दिन सुझाव दिएका छन् । तर अध्यक्ष ओली भने संसद पुनर्स्थापनाको पक्षमा बलियो रुपमा उत्रिएका छन् ।

बैठक आज पनि जारी छ, जहाँ नेताहरू ओलीको राजनीतिक प्रतिवेदनमाथि थप छलफल गर्दै छन् ।


सम्बन्धित खबरहरु