काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि लागू हुने गरी कार्यवाहक सभापति को जिम्मेवारी दिएका छन् ।
केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले स्वास्थ्य कारणले आफू केही समयका लागि विदेश जाने र सो अवधिमा खड्काले पार्टी सञ्चालनको जिम्मेवारी सम्हाल्ने बताएका हुन् ।
‘मेरो स्वास्थ्यका कारण म पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको रुपमा काम गर्ने गरी तोकेको छु,’ देउवाले बैठकमा भने, ‘उहाँले पार्टीको वृहत्तर हितमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ।’
जेन–जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोमा १२ टाँका लगाएर उपचार गराइरहेका देउवा पहिलोपटक सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए । उक्त अवसरमा उनले हालसम्म गरेका कामको फेहरिस्त सुनाउँदै आफू थप उपचारका लागि सिंगापुर जाने बताएका हुन् ।
देउवाले आफ्नो सम्बोधनमार्फत कांग्रेसका नेताहरूलाई एकता र सहकार्यका लागि आग्रह गर्दै भने, ‘देशमा अब द्वन्द्वको आवश्यकता छैन। नयाँ राजनीतिक परिस्थितिअनुसार पार्टीलाई एकतावद्ध गर्नुपर्छ।’
उनका अनुसार पार्टीको आन्तरिक जीवन सुदृढ गरेर १५औं महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, उनले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग आवश्यक संवाद र सहकार्य गर्न नचाहेको टिप्पणी गर्दै भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सरकार र दलबीच संवाद हुनु जरुरी छ, तर अहिले त्यस्तो प्रयास देखिँदैन।’
देउवाले संसद् असंवैधानिक रूपमा विघटन गरिएको भन्दै स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि देशमा शान्ति, सुरक्षा र भयरहित अवस्था सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
