वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
प्रदेश सभा सचिवालयका अनुसार दिउँसो एक बजे बस्ने बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मत प्रस्तुत गर्नेछन्।
मुख्यमन्त्री सिंहले प्रदेश सभामा पठाएको पत्रमा उल्लेख छ
नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२ असोज २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु।
यसअघि, सिंह नेतृत्वको सरकारलाई समर्थन गरिरहेको जनमत पार्टीले गत ३१ भदौमा आफ्ना मन्त्रीहरूलाई सरकारबाट फिर्ता बोलाएको थियो।
जनमत पार्टीको समर्थन फिर्तासँगै मुख्यमन्त्री सिंहको सरकार बहुमत गुमाउने स्थितिमा पुगेको हो।
त्यसैले आजको प्रदेश सभा बैठक सिंहको सरकार टिक्ने वा ढल्ने निर्णायक मोडका रूपमा हेरिएको छ।
