काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचनका विषयमा छलफल गर्न सबै राजनीतिक दललाई राष्ट्रपति कार्यालय शीतल निवासमा बोलाएका छन्।
राष्ट्रपतिले शुक्रबार दिउँसो ४ बजेका लागि दलहरूलाई आह्वान गरेका हुन्। छलफल राष्ट्रपति कार्यालय शीतल निवासमै हुने जनाइएको छ।
एक मन्त्रीका अनुसार, बिहीबार प्रधानमन्त्री सुशीला कार्की र केही मन्त्रीहरूले राष्ट्रपतिसँग गरेको भेटपछि सबै दललाई निर्वाचनसम्बन्धी छलफलका लागि बोलाउने निर्णय गरिएको हो।
फागुन २१ गतेका लागि घोषणा गरिएको निर्वाचनको तयारी र अनुकूल वातावरण निर्माणबारे छलफल हुने जनाइएको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन पछि सुशीला कार्कीको नेतृत्वमा बनेको निर्दलीय सरकारलाई निर्वाचन तयारीका लागि जिम्मेवारी दिइएको थियो। त्यसयता पहिलोपटक राष्ट्रपति पौडेलले विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग संयुक्त रूपमा छलफल गर्न लागेका हुन्।
