वीरगञ्ज । अविरल वर्षा र त्यससँगै उत्पन्न प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै सरकारले आइतबार र सोमबार दुई दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
गृह मन्त्रालय स्रोतका अनुसार भोलिदेखि सरकारी कार्यालयहरू खुल्ने तय भए पनि देशभरका राजमार्गमा खसेका पहिरो तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सतर्कता सूचना ध्यानमा राख्दै बिदा थपिएको हो।
यस्तै, देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूसँग गृह मन्त्रालयमा सुरक्षा व्यवस्थाबारे विशेष छलफल भएको छ।
उच्च जोखिमयुक्त बस्तीहरूमा सुरक्षाकर्मी परिचालन गर्ने तथा आकस्मिक उद्धारका लागि नेपाली सेनाको टोली तयारी अवस्थामा राख्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।
