आज:  | Tue, 21, Apr, 2026

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख मुख्य एजेन्डासहित माओवादी निर्वाचनमा

Avatar photo दिशा निर्देश १४ आश्विन २०८२, मंगलवार १५:१९ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाउने निर्णय गर्दै मातहतका सबै कमिटीलाई सर्कुलर पठाएको छ। पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई आफ्नो प्रमुख एजेन्डाको रूपमा अघि सारेको छ।

पार्टीको असोज ९–१० गते कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न आठौँ केन्द्रीय समितिको सातौँ पूर्ण बैठकको निर्णयअनुसार सर्कुलर पठाइएको हो। महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को हस्ताक्षरमा पठाइएको सर्कुलरमा तोकिएकै मितिमा निर्वाचन हुनुपर्नेमा माओवादीले जोड दिएको उल्लेख छ।

सर्कुलरमा भनिएको छ, “निर्वाचन प्रणालीको सम्बन्धमा हाम्रो पार्टीले विगतदेखि उठाउँदै आएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, दलहरूको सिफारिसमा विज्ञहरूको मन्त्रीपरिषद् गठन लगायतका मुद्दाहरू निरन्तर उठाइनेछ।”

बैठकले आगामी २०८२ मङ्सिरको अन्तिम हप्तासम्म विशेष महाधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको छ। यसका लागि केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी संयोजकमा अध्यक्ष प्रचण्डलाई चयन गरिएको छ। बहुपदको व्यवस्था स्थगन गर्दै संयोजकको नेतृत्वमा सचिवालय गठन गर्ने निर्णय पनि सर्कुलरमा उल्लेख छ।

त्यसैगरी, समाजवादी मोर्चामा आवद्ध दलहरूसँग अविलम्ब पार्टी एकताको पहल गर्ने र एकता सम्भव भए विशेष महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा आयोजना गर्ने निर्णय भएको छ।

पार्टीले आन्तरिक शुद्धीकरण र संगठनात्मक सुधारका लागि ठोस कदम चाल्ने पनि जनाएको छ। यस अन्तर्गत सम्पत्ति छानबिनका लागि उच्चस्तरीय आयोग गठन, जीवनशैली र निजी सचिवालयसम्बन्धी मापदण्ड कार्यान्वयन, प्रविधिमैत्री कार्यालय तथा समितिको विकास, र हरेक समितिमा एक तिहाइ युवाको अभ्यास सुनिश्चित गर्ने योजना उल्लेख गरिएको छ।


सम्बन्धित खबरहरु