काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना निवर्तमान सांसदहरूलाई तत्काल रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ। यसअघि प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद रहेका थिए।
सोमबार पार्टी प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै सबै तहका नेताहरूलाई चाडपर्वका अवसरमा शुभकामना सन्देशबाहेक कुनै किसिमका उपहार नस्वीकार गर्न पनि निर्देशन दिएका छन्।
रास्वपाले हालै जेनजीको अगुवाइमा भएको सुशासनका लागि परिवर्तनको आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएकाले राष्ट्रिय शोकको अवस्था रहेको उल्लेख गर्दै यस वर्ष पार्टीको नाम र झण्डा प्रयोग गरेर कुनै पनि पर्व–सम्बन्धी कार्यक्रम आयोजना नगर्न अनुरोध गरेको छ।
