आज:  | Tue, 21, Apr, 2026

राष्ट्रपति पौडेलको विजयादशमी सन्देश : निर्वाचनलाई शान्तिपूर्ण र समयमा सम्पन्न गर्न अपिल

Avatar photo दिशा निर्देश १३ आश्विन २०८२, सोमबार १०:३३ मा प्रकाशित (६ महिना अघि)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताका लागि सबैलाई संयमता अपनाई आवश्यक सहयोग र सहकार्य गर्न अपिल गरेका छन्।

हिन्दू धर्मावलम्बीहरूको महान् चाड विजयादशमीको पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक तथा अन्य क्षतिलाई व्यवस्थापन गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आरोग्य एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै उनले देशलाई संकटबाट उन्मुक्त पार्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन्।

राष्ट्रपति पौडेलले दशैँलाई सत्यको असत्यमाथि विजय, पारिवारिक जमघट, पुनर्मिलन, खुसीयाली साटासाट र सामाजिक मेलमिलापको पर्वको रूपमा मनाउने प्रचलनले यस पर्वलाई अझ महत्व दिएको बताए। उनका अनुसार यसले आपसी सद्भाव, भ्रातृत्व, क्षमा, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

सन्देशमा उनले दुर्गा भवानीले समस्त नेपालीलाई न्याय, समानता, आर्थिक समृद्धि, सामाजिक एकता र राष्ट्रको समग्र कल्याणका लागि शक्ति प्रदान गरून् भन्ने प्रार्थना गर्दै मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।


सम्बन्धित खबरहरु