आज:  | Tue, 21, Apr, 2026

सरकारद्वारा पुनर्निर्माण अभियानमा सहभागी हुन आह्वान

Avatar photo दिशा निर्देश ९ आश्विन २०८२, बिहीबार ०९:५९ मा प्रकाशित (६ महिना अघि)

काठमाडौँ । सरकारले देश पुनर्निर्माणको अभियानमा सहभागी हुन सबै तहका सरोकारवालालाई आह्वान गरेको छ। अर्थ मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रदेश सरकार तथा पालिका, निजी क्षेत्र, स्वदेशी र विदेशी नागरिक, गैरआवासीय नेपाली, मित्रराष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाबाट अमूल्य योगदान गर्न आग्रह गरिएको छ।

मन्त्रालयका अनुसार भौतिक पूर्वाधार पुनर्निर्माणका लागि कोष स्थापना गरिएको छ। यस कोषमा योगदान गर्न राष्ट्रिय वाणिज्य बैंक, सिंहदरबार शाखामा रहेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ नामक खाता नम्बर १९६०१००१०२०७०००४ मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।

भदौ २३ र २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति भएको मन्त्रालयले जनाएको छ। उक्त क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनःस्थापना कार्यलाई तत्काल प्रभावकारी बनाउन असोज ५ गते मन्त्रिपरिषद्को निर्णयअनुसार यो कोष स्थापना गरिएको हो।

मन्त्रालयले जारी गरेको भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ अनुसार पुनर्निर्माण, मर्मत, राहत र पुनःस्थापनासम्बन्धी कार्य व्यवस्थित गर्न यस कोषमार्फत योगदान गर्न पुनः आग्रह गरिएको छ।


सम्बन्धित खबरहरु