आज:  | Tue, 21, Apr, 2026

वीरगञ्ज नाकाबाट दुई महिनामा २६ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात

Avatar photo दिशा निर्देश ७ आश्विन २०८२, मंगलवार १०:५९ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा वीरगञ्ज नाकाबाट २६ अर्ब ३३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । सो अवधिमा डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपी ग्यास), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष पेट्रोलियम पदार्थको आयात मूल्यमा एक अर्ब ७६ करोड रुपैयाँ बढी देखिएको प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आयात वृद्धिसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ । गत आवको दुई महिनामा नौ अर्ब ८९ करोड रुपैयाँ राजस्व संकलन भएकोमा यस आवको सोही अवधिमा ११ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

‘यहाँको राजस्वको मुख्य आधार पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हो,’ प्रमुख भन्सार प्रशासक ज्ञवालीले बताए ।

डिजेल र पेट्रोल आयात

दुई महिनामा रु ११ अर्ब ९१ करोड मूल्य बराबरको एक लाख ३२ हजार ८२४ किलोलिटर डिजेल आयात हुँदा पाँच अर्ब २८ करोड राजस्व संकलन भएको छ । गत आवमा सोही अवधिमा १० अर्ब ४५ करोड मूल्यको डिजेल आयात हुँदा चार अर्ब ५१ करोड राजस्व संकलन भएको थियो ।

यस्तै, दुई महिनामा छ अर्ब ८२ करोड मूल्य बराबरको ८० हजार ५६० किलोलिटर पेट्रोल आयात हुँदा चार अर्ब ५४ करोड राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा ६९ हजार ६४७ किलोलिटर पेट्रोल (छ अर्ब ४० करोड मूल्य बराबर) आयात हुँदा तीन अर्ब ९९ करोड राजस्व संकलन भएको थियो ।

एलपी ग्यास आयात

चालु आवको दुई महिनामा पाँच अर्ब १२ करोड मूल्य बराबरको चार करोड ९५ लाख ६६ हजार ६६४ किलो एलपी ग्यास आयात भएको छ । यसबाट ९६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत आवको सोही अवधिमा पाँच अर्ब ३६ करोड मूल्य बराबरको चार करोड ९७ लाख ५५ हजार १९४ किलो एलपी ग्यास आयात हुँदा एक अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।


सम्बन्धित खबरहरु