वीरगञ्ज । वीरगञ्ज महानगरपालिका आसपास फैलिएको हैजाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्ला २४ घण्टामा मात्र २८ जना नयाँ हैजा संक्रमित फेला परेका छन्।
जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार असोज ६ गतेसम्म आरडिटी परीक्षणमार्फत दुई सय ४० जनामा हैजाको पुष्टि भएको छ। तीमध्ये दुई सय ३६ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जना अझै उपचाररत छन्।
महानगर क्षेत्रमा हैजा देखिन थालेयता २१ वटा अस्पतालमा एक हजार पाँच सय १२ जना हैजा तथा झाडापखालाका लक्षण भएका बिरामी भर्ना भएका थिए। तीमध्ये एक हजार चार सय ७९ जना उपचारपछि डिस्चार्ज भएका छन्।
स्वास्थ्य कार्यालयले हैजाको संक्रमण अझै नथामिएकाले सरसफाइमा ध्यान दिन र सुरक्षित खानेपानी सेवन गर्न आग्रह गरेको छ।
