काठमाडौँ । बिजुलीको बाँकी बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरण (नेपा)ले बोर्ड बैठक डाक्ने तयारी गरेको छ ।
ऊर्जामन्त्रीको जिम्मेवारी सम्हालेपछि कुलमान घिसिङले पहिलो निर्णयका रूपमा बक्यौता उठाउने कार्य अघि बढाएका थिए । सो निर्णयलाई कार्यान्वयनमा लैजानका लागि चाँडै बोर्ड बैठक बस्ने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले जानकारी दिएका छन् ।
उनका अनुसार, बोर्ड बैठकले गर्ने निर्णयपछि बक्यौता उठाउन कुनै समस्या रहने छैन । “सरकारको निर्णयअनुसार बक्यौता उठाउनेतर्फ लाग्छौँ,” शाक्यले बताए ।
कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा पटक–पटक उद्योगीलाई बाँकी तिर्न लाइन काट्ने कार्य भएको थियो । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी शर्मा ओलीका पालामा उद्योगीको बिजुली लाइन पुनः जडान गर्न निर्देशन दिइएको थियो ।
प्राधिकरणका अनुसार, उद्योग तथा सार्वजनिक संस्थाले डेडिकेटेड र ट्रङ्कलाइनमार्फत लिएको बिजुलीको जरिवानासहित करिब २५ अर्ब रुपैयाँ उठाउन बाँकी छ । लोडशेडिङको समयमा उद्योगीलाई चाैबीसै घण्टा विद्युत् आपूर्ति गरिएको भए पनि प्रयोग नगरेको बिजुलीको समेत बिल आएको भन्दै उद्योगीहरूले भुक्तानी गर्न अस्वीकार गर्दै आएका छन् ।
