वीरगञ्ज। जनमत पार्टीबाट निस्कासित भएका नेताहरूले नयाँ राजनीतिक संगठन जनस्वराज पार्टीको घोषणा गरेका छन्। असोज ३ र ४ गते जनकपुरधाममा सम्पन्न भेलाले पुराना दलहरूको असफलता, बेथिति र भ्रष्टाचारविरुद्ध नयाँ विकल्प प्रस्तुत गर्ने निष्कर्ष निकाल्दै ई. दीपक साहको संयोजकत्वमा पार्टी गठन गरिएको हो।
बैठकले पुराना दलहरू आत्मकेन्द्रित र विभाजनकारी मानसिकता बोकेका कारण जनताको आकांक्षा र अधिकारमाथि तानाशाही ढंगले खेलबाड भएको ठहर गर्दै अब जनता आफैं सशक्त भएर आफ्नो भविष्य निर्धारण गर्नुपर्ने निष्कर्ष निकालेको छ।
पार्टीको गतिविधि अगाडि बढाउन डा. संजयकुमार साह संयोजकत्वमा प्रशिक्षण विभाग र ई. सुरेन्द्र नारायण यादव संयोजकत्वमा आर्थिक विभाग गठन गरिएको छ। संयोजक साह जनमत पार्टीमा वरिष्ठ उपाध्यक्ष रहेका थिए भने आर्थिक विभाग प्रमुख बनेका यादव त्यहाँका कोषाध्यक्ष थिए। अन्य विभाग चाँडै गठन गर्ने तयारी रहेको जनाइएको छ।
जनस्वराज पार्टीले आफ्नो मूल एजेन्डामा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, पारदर्शी र जवाफदेही राजनीति, शिक्षा–स्वास्थ्य र रोजगारीको ग्यारेन्टी, महिला, युवा, दलित, मुस्लिम, किसान, श्रमिकलगायत विपन्न वर्गको सशक्तीकरण, स्थानीय स्वायत्तता र कार्यकारी राष्ट्रपति प्रणालीलाई समेटेको छ।
