आज:  | Tue, 21, Apr, 2026

नारायणगढ–मुग्लिन सडक खण्ड अनिश्चित, तुइन खोलामा निरन्तर पहिरो

Avatar photo दिशा निर्देश ५ आश्विन २०८२, आईतवार ०८:३९ मा प्रकाशित (७ महिना अघि)

काठमाडौँ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक लगातार पहिरो खसिरहेकाले सडक सञ्चालन अनिश्चित बनेको छ। शुक्रबारदेखि अवरुद्ध सडक आजसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेका अनुसार शनिबार बिहानैदेखि पहिरो पन्छाउने काम सुरु भए पनि माथिबाट निरन्तर पहिरो खसिरहेकोले काममा कठिनाइ भएको हो। मुग्लिनतर्फ तीनवटा र नारायणगढतर्फ दुईवटा उपकरण परिचालन गरिएको छ। राति काम गर्न कठिन भएकाले शुक्रबार साँझदेखि शनिबार बिहानसम्म पन्छाउने काम रोकिएको थियो।

करिब ७० मिटर माथिबाट खसेको पहिरोले १६ मिटर उचाइ र १० मिटर चौडाइमा फैलिँदै करिब १६० मिटर सडक पुरेको छ।

सडक अवरुद्ध हुँदा यात्रु र सवारीसाधन अलपत्र परेका छन्। दैनिक १० हजारभन्दा बढी सवारीसाधन चल्ने यो खण्ड बन्द भएपछि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था आएको छ। सडक डिभिजन भरतपुरले नौबिसे–दामन–हेटौँडा वा मुग्लिन–भिमाद–डेढगाउँ–गैँडाकोट (कालीगण्डकी करिडोर) प्रयोग गर्न आग्रह गरेको छ।


सम्बन्धित खबरहरु