आज:  | Wed, 22, Apr, 2026

जेनजी आन्दोलन छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन प्रक्रिया अघि बढ्यो

Avatar photo दिशा निर्देश ५ आश्विन २०८२, आईतवार ०८:३५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने प्रक्रिया अघि बढाएको छ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार घटनामा राज्य पक्षबाट भएको कमजोरी र दोषी पहिचान गर्ने जिम्मेवारी आयोगलाई दिइनेछ। ‘अब बस्ने पहिलो मन्त्रिपरिषद् बैठकमै आयोग गठनको निर्णय हुनेछ,’ ती अधिकारीले बताए।

मन्त्रालयले यसअघि विज्ञहरूको रोस्टर तयार गरी आयोगको संरचना र कार्यक्षेत्र (टीओआर)बारे छलफल सकेको छ। स्रोतका अनुसार, आयोगको नेतृत्व विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गर्ने सम्भावना उच्च छ। भ्रष्टाचारविरुद्धको उनको छवि भएकाले नै नेतृत्वका लागि नाम अगाडि आएको बताइन्छ। आयोग तीन सदस्यीय रहनेछ भने अन्य सदस्यहरूको नाम पनि लगभग टुंगो लागिसकेको छ।

जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा विस्तार भएको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको थियो। यसअघि नेपाली सेनाको सहजीकरणमा जेनजी समूहसँग भएको वार्तापछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई सरकार गठन प्रक्रियामा अघि बढाएका थिए।


सम्बन्धित खबरहरु