आज:  | Wed, 22, Apr, 2026

प्रधानमन्त्री कार्कीले फागुन २१ का लागि सफल निर्वाचनको अपिल

Avatar photo दिशा निर्देश ३ आश्विन २०८२, शुक्रबार १५:०५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ का लागि तय गरिएको निर्वाचन सफल बनाउन सबै पक्षलाई अपिल गर्नुभएको छ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा आज काठमाडौँको टुँडिखेलमा आयोजित मूल समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले निस्पक्ष रूपमा चुनाव सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने योजना रहेको स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री कार्कीले जेन–जी युवाको नेतृत्वमा भएको आन्दोलनले देखाएको मार्गदर्शनअनुसार काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।

सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा अन्तरिम सरकारका मन्त्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी हुनुहुन्थ्यो। तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल लगायत मुख्य दलका नेताहरू उपस्थित हुनु भएन।

यस वर्षको संविधान दिवस समारोहमा विगतमा जस्तो साँस्कृतिक झाँकी कार्यक्रम सञ्चालन गरिएको थिएन। विभिन्न दलले आफ्ना कार्यालयमार्फत संविधानको रक्षाका लागि जनचेतना फैलाउँदै दिवस मनाएका थिए।

नेपालको संविधान २०७२ साल असोज ३ गते संविधानसभाबाट घोषणा भएको थियो।


सम्बन्धित खबरहरु