आज:  | Tue, 21, Apr, 2026

अर्थमन्त्री खनालद्वारा पूँजीबजार सुधारका लागि कार्यदल गठन

Avatar photo दिशा निर्देश ३ आश्विन २०८२, शुक्रबार १४:५८ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज। अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजारमा देखिएका विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धि गर्नुपर्ने सुझावसहितको प्रतिवेदन पेश गर्न कार्यदल गठन गर्नुभएको छ।

जेन–जी आन्दोलनपछि पहिलो पटक शेयर बजार खुलेको दिन (हिजो) केही बेरमै नकारात्मक ‘सर्किट ब्रेक’ लागेर कारोबार नै स्थगित भएपछि अर्थमन्त्रीले यो निर्णय गर्नुभएको हो।

मन्त्रीस्तरीय निर्णयमार्फत गठन गरिएको चार सदस्यीय कार्यदलको संयोजक धितोपत्र बोर्डका कायममुकायम कार्यकारी निर्देशक रुपेश केसी रहनुहुन्छ। सदस्यमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का कायममुकायम कार्यकारी निर्देशक निरन्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला हुनुहुन्छ।

कार्यदललाई लगानीकर्ताको विश्वास पुनःस्थापित गर्न आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका ठोस सुझाव र कार्यान्वयन कार्ययोजना पाँच दिनभित्र पेस गर्ने जिम्मेवारी दिइएको छ।

हिजोको कारोबारमा नेप्से परिसूचक १६० अंकले ओरालो लाग्दा लगानीकर्ताले करिब २ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति गुमाएका थिए।


सम्बन्धित खबरहरु