आज:  | Tue, 21, Apr, 2026

हैजा नियन्त्रणका लागि वीरगञ्जमा जनचेतना अभियान तीव्र

Avatar photo दिशा निर्देश ३ आश्विन २०८२, शुक्रबार १४:४५ मा प्रकाशित (७ महिना अघि)

वीरगञ्ज । वीरगञ्जमा हैजा फैलिन थालेपछि सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साले जनचेतना अभियानलाई तीव्र बनाएको छ। युनिसेफको आर्थिक सहयोग तथा वीरगञ्ज महानगरपालिका र नेपाल रेडक्रस सोसाइटी पर्साको समन्वयमा समितिले नगरका प्रत्येक वडामा होर्डिङ बोर्डसहित क्याम्पिङ सञ्चालन गर्दै जनतालाई सचेत गराइरहेको छ।

समितिले क्याम्पिङमार्फत हैजाबारे जानकारी दिनुका साथै घर–घरमा पुगेर पिउने पानीको नमुना सङ्कलन गरी परीक्षण गर्ने, सरसफाइबारे स्थानीय बासिन्दालाई भेला गरी आवश्यक जानकारी दिने कार्यलाई निरन्तरता दिइरहेको छ।

समितिका अध्यक्ष इब्राहीम देवानले भने, “वीरगञ्जमा फैलिएको हैजा नियन्त्रणका लागि प्रत्येक निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। हाम्रो समिति समुदायस्तरमै पुगेर जनतालाई सचेत गराउने, पानीको नमुना परीक्षण गर्ने र सरसफाइबारे शिक्षित गर्ने कार्यमा निरन्तर सक्रिय छ।”

संस्थाले आफ्नो प्रयासलाई सफल बनाउन स्थानीयको सहकार्य अपरिहार्य रहेको बताउँदै सबैलाई सुरक्षित पानी र सरसफाइमा ध्यान दिन अपिल गरेको छ।

स्वास्थ्यकर्मी अनिशकान्त कुशवाहाले हैजा जस्ता रोग रोकथाममा समुदायमै पुगेर जनचेतना फैलाउनु सबैभन्दा प्रभावकारी उपाय हुने बताए। “जिल्ला समन्वय समितिको प्रयास सराहनीय छ र यसले जनस्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ,” उनले भने।

युनिसेफ र नेपाल रेडक्रस सोसाइटी पर्साले पनि अभियानलाई आवश्यक प्राविधिक तथा सामग्री सहयोग प्रदान गर्दै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको समितिका दुलरचन्दले जानकारी दिए।


सम्बन्धित खबरहरु