काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हालैको जेन–जी आन्दोलनलाई युवापुस्ताको आकांक्षा, जनचेतनाको वृद्धि र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्ब भएको बताएकी छन्।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ का अवसरमा शुक्रबार आयोजित मूल समारोहमा सम्बोधन गर्दै उनले संविधानको मर्मअनुरूप सुशासन, समृद्धि र विकासमा देखिएका कमजोरीले असन्तुष्टि बढाएको र यही कारणले आन्दोलन जन्मिएको स्वीकार गर्नुपर्ने उल्लेख गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “यस आन्दोलनलाई मैले हाम्रो लोकतान्त्रिक प्रणालीको स्वास्थ्यसँग पनि जोडेर हेर्ने गरेको छु, किनभने लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो।”
उनका अनुसार रोजगारी, जीवनस्तर, पारदर्शिता, कानुनी समानता, भ्रष्टाचार अन्त्य, सुशासन र विकास जस्ता युवापुस्ताले उठाएका मुद्दा वास्तवमा सबै पुस्ताको साझा अपेक्षा र राष्ट्रिय एजेन्डा हुन्। उनले यी अपेक्षालाई आत्मसात गर्दै सरकार काम गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन्।
कार्कीले पछिल्लो आन्दोलनले सुधारको मार्गनिर्देश दिएको भन्दै “युवापुस्ता शासकीय प्रणालीमा सहभागी हुन चाहन्छ, विकसित देशजस्तै सफल अभ्यास आफ्नै मुलुकमा देख्न चाहन्छ” भन्दै त्यस दिशामा सरकार दृढ संकल्पका साथ अघि बढ्ने विश्वास दिलाइन्।
जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना पुनर्निर्माण, निजी क्षेत्रको मनोबल वृद्धि र तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा उनले विशेष जोड दिइन्। त्यसका लागि युवापुस्ता, राजनीतिक दल, कर्मचारी, निजी क्षेत्र, विकास साझेदार र आमनागरिकलाई सहभागिताको आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले शासकीय शैलीप्रति असङ्ख्य गुनासा र असन्तुष्टि रहेको स्वीकार गर्दै, स्रोत र क्षमताले भ्याएसम्म समाधान गर्ने सरकारको इमानदार प्रयास हुने बताइन्।
समारोहमा उनले संविधान दिवसलाई केवल उत्सव नभई मूल्यांकन गर्ने दिनका रूपमा व्याख्या गरिन्। संविधानले एक दशक पूरा गरेको यस घडीमा विगतमा के हासिल गरियो, के कमजोरी भयो र भविष्यमा के गर्नुपर्छ भन्ने प्रश्नमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री कार्कीले आफू कुनै व्यक्तिगत आकाङ्क्षा वा पदलोभका कारण नभई मुलुक संकटमा परेको बेला युवापुस्ताको आग्रह र संविधानबमोजिम अन्तरिम सरकारको जिम्मेवारी लिएको स्पष्ट पारिन्। उनले छ महिनाभित्र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरी जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोराइन्।
२०६२/६३ को जनआन्दोलनको जगमा बनेको संविधानले नेपाली जनतालाई आफ्नो भाग्य आफैं कोर्न सक्षम भएको सन्देश दिएको उनको भनाइ थियो।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत संवैधानिक निकायका प्रमुख, विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित विदेशी नियोगका प्रतिनिधि सहभागी थिए।
प्रधानमन्त्री कार्कीले विगतका जनआन्दोलन र हालैको जेन–जी आन्दोलनमा सहादत प्राप्त शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिन्। साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गरिन्।
