काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै यसबारे अन्य दलसँग व्यापक छलफल गर्ने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो। बैठकले दशैंअघि केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ।
भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि कांग्रेसको औपचारिक बैठक पहिलोपटक आज बसेको हो। आन्दोलनका क्रममा प्रदर्शनकारीले आगजनी गर्दा कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त भएको थियो। क्षतिग्रस्त भवनमै आज उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक सम्पन्न भएको हो।
यसअघि आन्दोलनपछि एकपटक मात्र समितिको बैठक भर्चुअल माध्यमबाट बसेको थियो।
उक्त आन्दोलनमा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पतीमाथि समेत कुटपिट भएको थियो। हाल दुवै उपचाररत छन्। त्यस्तै, आन्दोलनका क्रममा कांग्रेसका धेरैजसो शीर्ष नेताहरूको निवासमा पनि क्षति पुगेको थियो।
